२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको मन्दिर पुनः निर्माणको क्रममा शनिबार भक्तपुरको दरबार क्षेत्रमा अवस्थित ‘नृत्य वत्सला मन्दिर’ एक समारोहबीच उद्घाटन गरेको छ ।
भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको सो मन्दिरको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी ‘नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८’ पुस्तक पनि सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ढुंगै ढुंगाले बनेको शिखर शैलीका वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बताउनुहुँदै भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।
नेपालका प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन भएको बताउनु हुँदै उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए जनताको मर्मअनुरुप काम गर्न सहज हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भएको अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिकाले पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्य जस्ता विषयहरुमा खर्च गर्दै आएको बताउनुहुँदै उहाँले विदेशी सहयोग, गैरसरकारी संस्था –एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ)हरूको सहयोगबिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको बताउनुभयो ।
0 comments: