भक्तपुर, ९ साउन ।
भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप सः’ को वार्षिक कार्यक्रम सोमबार एक समारोहबिच सम्पन्न भयो ।
‘ख्वप सः’ सञ्चालनको ४ वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले यस कार्यक्रम मार्फत भक्तपुर र देशका अन्य नगरपालिकाबिच शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत विविध पक्षमा अनुभव आदानप्रदान गरिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यसै क्रममा भक्तपुर नगरपालिकाले 'ख्वप टीभी' सञ्चालनको लागि भैरहेको प्रयासको प्रसंसा गर्दै यसले भक्तपुरको गतिविधि विश्व समुदायमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अतिथि बिजुक्छेंले ख्वप सः कार्यक्रमका प्रस्तोता र प्राविधिक सहयोगीहरूलाई प्रशंसापत्र र मायाको चिनो वितरण गर्नुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले आर्थिक अनुशासन, पारदर्शिता र जनश्रमदान भक्तपुर नपाको विशेषता रहेको चर्चा गर्दै जनप्रतिनिधिको अनुपस्थितिमा पनि कर्मचारीहरूले नगर र नगरवासीको इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भनपाको मिडियाले नागरिकको नागरिक र सांस्कृतिक भावना उजागर गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्दै सांसद सुवालले झूट र भ्रमलाई चिर्नुका साथै सत्यतथ्य घटनालाई उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको अनुभव लिपिबद्ध गरी भनपाको सञ्चारमाध्यमले प्रसारण गर्नुपर्छ ।”
भनपाका प्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले संविधान प्रदत्त मौलिक हकको सदुपयोग गर्दै भक्तपुर नपाले रेडियो कार्यक्रम ‘ख्वप सः’ सुरु गरेको बताउनुभयो ।
भनपाका हरेक सूचना र गतिविधि सञ्चारमाध्यममार्फत प्रचारप्रसार भएकै कारण भक्तपुरवासीलगायत अन्यले समेत भनपाले गरिरहेको गतिविधिबारे जानकारी पाइरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, पुँजीवादी प्रेस वा सञ्चार स्वतन्त्रताको अर्थ सञ्चारगृहमाथि पुँजीति वर्गको नियन्त्रण वा कब्जा हुने गर्छ । पुँजीपति वर्गको चाहनाअनुसार सञ्चारमाध्यमले प्रचारप्रसार गर्छ । ती सञ्चार माध्यमहरू पुँजीपति वर्गको स्वार्थ सिद्ध गर्ने हतियार बन्छन् ।”
भनपाका उपप्रमुख रजनी जोशीले भनपाको सूचना जनतामाझ प्रवाह गर्न ‘ख्वप सः’ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा नयाँ नयाँ शिक्षामूलक कार्यक्रम प्रसारणमा निरन्तरता दिने विश्वास दिलाउनुभयो ।
बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना ज्ञानको स्रोत हो, यसलाई शक्तिमा रुपान्तरण गर्नु हाम्रो कर्तव्य हो भन्नुभयो ।
भनपाको अभ्यास अन्य स्थानीय तहको लागि सिक्नलायक हुने विचार व्यक्त गर्दै उहाँले पत्रकार कलम बोक्ने सिपाहीं हुन् भन्नुभयो ।
प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदाहरूको अभिलेखीकरण गर्न सके पुनः संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भक्तपुरको दरबार सङ्गीतमय दरबारको रुपमा रहेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “पचपन्न झ्याल दरबारभित्रका भित्तेचित्रहरू विश्वश्रेणीका चित्रहरू हुन् ।”
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वागत मन्तव्य दिनुभयो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन गर्नुभयो ।
साभार : भक्तपुर नगरपालिका फेसबुक पेज